काठमाडौं, २० जेठ।नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टिको नेताहरूले ‘सहमति’ शब्दलाई जोड दिएका छन् ।अध्यक्ष माधव नेपालले सुरु गरेको सहमति शब्द पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि जोड दिएर उच्चारण गरेका थिए।
घोषणा भइसकेको महाधिवेशन समयमा नै सम्पन्न हुनेछ भन्ने कुराको सुनिश्चितता दिलाउन पत्रकार सम्मेलनको आयोजना गरिएको भनेर स्पष्टीकरण अध्यक्ष नेपालले दिएको हो ।महाधिवेशन समयमा गर्न गइरहेका छौं भन्ने सन्देश दिन यो पत्रकार सम्मेलन गर्न गइरहेका छौं’, अध्यक्ष नेपालको भनाई, ‘हामी यो सहमतिको महाधिवेशन गर्न गइरहेका छौं । नेपालको राजनीतिमा हाम्रो पार्टीले जुन निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउन चाहन्छौं ।
अध्यक्ष नेपालसँगै सम्मानित नेता खनाल र महासचिव भुसालले पनि १० औं राष्ट्रिय महाधिवेशन घोषणा भएकै समयमा सम्पन्न हुन्छ भनेर विश्वस्त तुल्याउन खोज्नु पार्टीपंक्तिमा व्याप्त दुविधालाई चिर्नु नै थियो ।यसअघि गत वर्षको माघ दोस्रो साताका लागि तोकिएको महाधिवेशन यो वर्षको जेठमा गर्ने गरी सारिएको थियो ।
उपनिर्वाचन लगायत कारण सम्पन्न गर्न नसक्ने भन्दै जेठबाट असार तेस्रो साताका लागि सारिएको छ । महाधिवेशनकै लागि एकीकृत समाजवादीले चारवटा दस्तावेज तयार पारेर स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिबाट समेत पारित गरिसकेको छ । तर पनि समयमै महाधिवेशन सम्पन्न हुनेमा पार्टीपंक्ति विश्वस्त हुन सकेको छैन ।
जबकी महाविधेशन पछिको नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच नलुक्ने गरी तयारी चलिरहेको छ । खनाल र नेपालबीच पार्टी नेतृत्वको विषयमा मात्रै होइन, सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि उत्तिकै विवाद देखिएको थियो । जसका कारण कहिले सत्ता समीकरणमा कतापट्टी रहने भन्नेमा र कहिले जारी भइसकेको ‘अन्तर पार्टी निर्देशन’ लाई निष्क्रिय गर्नुपर्ने अवस्था एकीकृत समाजवादीमा देखा परेको थियो । अहिले पनि नेपाल र खनाल पक्षबीच सत्ता समीकरणका विषयमा एकमत देखिँदैन । नेपाल वर्तमान सत्ता गठबन्धनसँग नजिक भएर पनि विपक्षीसँग छलफलमा छन् । अर्कातिर खनाल एमाले र माओवादीको गठबन्धनसँग नै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।
१७ जेठमा अध्यक्ष नेपाल विपक्षी गठनबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेपछि पार्टीभित्रको असहमति थप सतहमा आयो । त्यसको भोलिपल्टै नेता खनाल भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे ।
जबकी खनालले अघिल्लो दिन नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुको कारणबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका थिए ।सत्ता गठबन्धनमा नै रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको केही समय नबित्दै दुई नेता दुईतिर दौडिएपछि एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने चर्चा चलिरहेको छ । सरकारले संसदमा पेश गरिसकेको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएपछि बजेट अधिवेशन सकिएलगत्तै अध्यादेश ल्याएर पार्टी विभाजनको वातावरण बन्नसक्ने आशंकामा अध्यक्ष नेपाल छन् ।जसका कारण दबाबमा आएका नेपालले आइतबारको पत्रकार सम्मेलन आयोजना गरेरै सहमतिको महाधिवेशन हुन लागेको भन्दै आफ्ना कदमको एकपछि अर्को बचाउ गरे ।
नेपालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेश प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताए ।यद्यपि उनले मधेशमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको बताए । ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्’, अध्यक्ष नेपालले भने, ‘अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’
देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रधानमन्त्रीले भन्नुभयो’, नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ ।
जबजबाट ब्याक
नेपाल र खनालबीच पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा पनि सुरुदेखि नै विवाद थियो । नेपालले गत माघमा आयोजित पार्टीको केन्द्रीय समिति बैठक र त्यसपछि विभिन्न सार्वजनिक मञ्चबाटै ‘जबजको उपादेयता अझै बाँकी रहेकोले त्याग्न नसकिने’ भन्दै ‘जबज समाप्त पार्न खोज्ने विचारलाई किमार्थ ठीक भन्न नसकिने’ बताएका थिए ।
तर पार्टीको १०औ महाधिवेशनका लागि नेपाल स्वयंले तयार पारेको राजनीतिक प्रतिवेदनमा जबजको खुलेरै आलोचना गरेका छन् भने त्यसको सट्टामा ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ भनेर ल्याएका छन् । एमालेलाई दक्षिणपन्थी बिसर्जनवादी गुटको संज्ञा दिएका अध्यक्ष नेपालले एकीकृत समाजवादी र एमालेबीचको भिन्नता भनेकै कार्यदिशामा रहेको उल्लेख गरेका छन् । ‘हामीले मार्क्सवाद –लेनिनवादलाई मात्र पार्टीको मार्गदर्शक सिघद्धान्त मान्छौं भने एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद –लेनिनवाद र जनताको बहुदलीय जनवाद हो भन्छ’, नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेसँगको भिन्नता देखाउन दिएको उदाहरणमा उल्लेख छ ।
आइतबारको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नै यो सर्वसम्मतिबाट अगाडि सारिएको दस्तावेज भनेर समेत स्पष्टीकरण दिए । ‘हामीले चारवटा दस्तावेज प्रस्तुत गरिरहेका छौं– राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान’, उनले अगाडि भने, ‘त्यसका लागि हामीले २७ सदस्यीय मस्यौदा समिति बनाएका थियौं । पार्टीको केन्द्रीय समितिबाट समेत सुझाव आए र सर्वसम्मतिबाट दस्तावेज अगाडि सारिरहेका छौं ।’
महाधिवेशनकै सन्दर्भमा नेपालले राखेका अन्य प्रस्तावहरू अस्वीकृत भएका छन् । अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुने प्रस्ताव राखेका थिए ।जबकी खनाल पक्षले केन्द्रीय सदस्य पनि तलका कमिटीबाट निर्वाचित भएर आएपछि मात्रै प्रतिनिधि हुन पाउने प्रावधान राख्नु पर्ने पक्षमा उभिए । अन्ततः पार्टीको सचिवालय, स्थायी समिति र पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म पुग्दा नेपालको प्रस्ताव अस्वीकृत भएर केन्द्रीय सदस्य पनि तलैबाट निर्वाचित हुनुपर्ने प्रस्ताव अघि बढाएको छ ।