काठमाडौं, २१ फागुन।अर्को सत्ता गठबन्धनकालागि दलहरुबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा माओवादी केन्द्र,जनता समाजवादीपार्टी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार-अहिले गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुसँग छलफल हुँदैछ, त्यो बैठकले मन्त्रालय टुंङ्गोलाउने तयारी छ’,
सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेबाट विष्णु पौडेल,रास्वपाका रवि लामिछाने, माओवादी केन्द्रका वर्षमान पुन, र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।
उनीहरुले बनाएको खाकामाथि शीर्ष तहमा छलफल हुन लागेको स्रोतको भनाइ छ । मन्त्रालय भागबण्डामा सहमति जुटाउने तयारी भए पनि सोमबार भने तीन जनाले मात्र बिना बिभागीय मन्त्रीको शपथ लिनेभएको छ ।
राष्ट्रपति कार्यालयलाई पाँच बजेभित्र शपथको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले सूचना पठाए, बालुवाटार स्रोतले बताए । सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याले शपथ लिने तयारी भएको स्रोतको दाबी छ ।