काठमाडौं । हाल देशभर डेंगु संक्रमितको संख्यामा बृध्दि भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लाका मानिसमा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।
सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार,दुई सय,एक्काइस जनामा डेंगु संक्रमित भेटिएको छ भने तनहुँमा १७२६ जनामा डेंगु संक्रमण भएको पाइएको छ । काठमाडौंमा एक हजार ९८६ जना डेंगु संक्रमित फेला परेका छन् । त्यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्कले देखाएको छ ।
ईडीसीडी अनुसार, चितवनमा ८२९, ललितपुरमा ४४८, बागलुङमा ३३९, गोरखामा ५५२ , स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण का बिरामी पाइएको छ ।
यो रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । पुरा बाहुला भएको कपडा लगाउनु पर्ने, लामखुट्टेको क्रिम/ लोसन लगाउनु पर्ने, झुलभित्र सुत्नुपर्ने,घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्नु पर्ने चिकित्सकको सुझाव छ ।
नेपालको सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण फैलिएको पाइएको छ ।