काठमाडौं,२३ मंसिर।बालबालिका,महिला तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वमा पुर्याउन सके भ्रष्टाचार कम हुने बताए ।
नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकासमा ध्यान दिनुपर्ने टिप्पणी गरे ।‘जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ र, महिला दिदीबहिनीहरुले पनि अधिकार माग्ने भन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ’, उनले बताए।
मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने पनि बताए ।कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले महिला पत्रकारको क्षमता अभिवृद्धि र संगठनमा समान सहभागिताका लागि आफू निरन्तर लागिरहेको बताए ।