नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्विटरको बायो हटाएका छन् । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि बिहीबार क्यानले लामिछानेलाई निलम्बन गरेको थियो ।
यसअघिसम्म उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत थिए । क्याप्टेन रहेका लामिछानेले आफ्नो ट्विटर ह्याण्डको बायोमा ‘क्याप्टेन अफ नेशनल क्रिकेट टीम, नेपाल’ लेखेका थिए । तर पक्राउ पूर्जी जारी भएसँगै क्यानले समेत निलम्बन गरेपछि उनले उक्त बायो हटाएका छन् । अहिले उनले बायोमा आफ्नो जर्सी नम्बर २५ मात्रै राखेका छन् ।
आफूमाथि भदौ ५ गते बलात्कार भएको भन्दै एक किशोरीले गत मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् । जाहेरी परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै अदालतबाट पक्राउ पूर्जी समेत लिएको छ ।
लामिछाने भने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन् । लामिछानेले शुक्रबार बिहानमात्रै सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको भन्दै लिग छोडेर चाँडै नेपाल आउन लागेको जानकारी गराएका छन् । आधारहीन आरोपको आफूले सामना गर्ने पनि उनले उल्लेख गरेका छन् ।