बारा–नेपालीहरुको ठुला चाँडबाड मध्ये दशैं अन्तर्गत नवरात्र चौथो दिन हो आज । सदाझैं चाडबाडसँगै सडकदेखि बजारसम्म चहलपहल बढिरहेको छ ।
चाँडबाडमा हुन सक्ने अप्रिय घटना पनि हुने गरेका छन् । यस्ता हुनुको मुख्यकारण होस्, कमजोर सुरक्षा प्रवन्ध ।
चाँडबाडसँगै निजगढ नगरपालिकालाई सुरक्षाको चिन्ताले सताएको छ । जसको कारण आईतबार एकैदिन दुई वटा बैठक बसेको छ । विहान जनप्रतिनिधि र सुरक्षाकर्मी विच बैठक बस्यो भने अप्राहन्न राजनीतिकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र होटल तथा पर्यटन व्यवसायिसँग मेयर सुरथ पुरीले बैठक गरेका छन् ।
छलफलमा सुरक्षा चुनौती र त्यसको सामाना गर्ने बारेमा सुझाव लिईएको थियो । नजिकिदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी निजगढ नगरपालिका भित्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शान्ति सुरक्षालाइ चुस्त, दूरुस्त बनाउन बैठकले आधा दर्जन निर्णय गरेको छ ।
यस्ता छन् निर्णय :
१. सडक सुरक्षा र सवारी साधन चलाउन पालना गर्नुपर्ने नियम सम्बन्धमा चेकजाँच गरी सुरक्षा नियम पालना गर्ने व्यवस्था मिलाउने ।
२. वेलुका विशेष गरि मदिरा विक्रि, वितरण गर्ने स्थानहरुमा व्यवस्थित रुपमा सुरक्षा कर्मीहरुद्धारा आवश्यकता अनुसार गस्तिको व्यवस्था मिलाउने तथा सो को लागि होटल व्यवसायीहरुले विशेष सजग भएर आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
३. निजगढ नगरपालिकाको क्षेत्राधिकार भित्र मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन नगरपालिका, राजनैतिक दलहरु, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ, होटल व्यवसायीहरु, सन्चारकर्मीहरु सबैले आवश्यक सहयोग गर्ने ।
४. जुवा, तास जस्ता खेलहरुबाट हुनसक्ने घटनालाई निरुत्साहित गर्नको लागि सुरक्षा निकायहरुद्धारा नियमित रुपमा विशेष गस्ति गर्ने व्यवस्था मिलाउने ।
५. सुरक्षा सम्बेदनशील स्थानहरुमा सुरक्षा गस्ति मिलाउने ,सुरक्षाको दृष्टिकोणले छिटो, छरितो रुपमा सेवा प्रवाह सम्भव र उपलव्ध भए सम्म सुरक्षा व्यवस्था सँग सम्बन्धि आधुनिक प्रविधिको प्रयोग गर्ने जसमा लोकेसन ट्याक, सुरक्षाको वर्तमान अवस्था बारे बुझ्ने सम्पर्क स्थापित गर्ने जस्ता कुराहरुको व्यवस्था मिलाउने ।
६. निजगढ नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने महेन्द्र राजमार्ग तथा अन्य भित्री सडकहरुमा रहेका पोलबत्तिहरुमा सुरक्षा विशेष चिन्हहरुको प्रयोग गर्ने तथा सुरक्षा विशेष सचेतनामूलक कार्य संञ्चालन गर्ने व्यवस्था मिलाउने जसले सडक सुरक्षा गर्न आवश्यक सहयोग पुग्ने छ । साथै, सुरक्षा सचेतना अपनाउन ठाउँ ठाउँमा सुरक्षा विशेष बिषयवस्तुहरुको जानकारी गराउने व्यवस्था मिलाउने ।