प्रदीप खड्का अभिनित चलचित्र एक्टर टेक– १ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ पन ल्याउने विश्वास गरिएको छ । माघ १६ गतेबाट देश तथा विदेशमा एक साथ प्रर्दशनमा आउनै लाग्दा केही अप्ठ्यारा परिस्थितिको सामनासँगै चलचित्र प्रदर्शनमा आएको छ । चलिचत्रको प्रचारमा आक्रमक देखिएको निमार्ण टिमले माघ १४ गते सोमबार साँझमा प्रिमियर गरेको थियो । प्रिमियरबाट राम्रो प्रतिकृया पाएको चलचित्रले अहिले हलमा पनि प्रतिक्रिया राम्रो पाइरहेको छ ।

प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टारर एक्सन–थ्रिलर फिल्म ‘एक्टर टेक वान’ बहुप्रतिक्षित चलचित्र कस्तो बनेको छ ? यो सबैको चासोको विषय हो । चलचित्र बनिरहन्छन् तर, त्यस चलचित्रले समाजमा र दर्शकमाझ कस्तो प्रभाव जमाउछ भन्ने कुरा महात्वपूर्ण हो ।
चलचित्रको दुबै भागलाई समग्रमा हेर्दा चलचित्र उत्कृष्ट बनेको छ । चलचित्र क्षेत्रका लागि यो चलचित्र नयाँपन हो भन्न चाहिँ मिल्दैन । चलचित्रमा नायक भन्दा खलनायकलाई विशेष महत्वका साथ राखिएको छ ।
चलचित्र सुरु हुँदै गर्दा दर्शकलाई नायकको इन्ट्रिले निराश बनाउन सक्छ । सबै जसो चलचित्रमा नायकको दमदार इन्ट्रि हुन्छ तर, एक्टर–टेक वानमा दर्शकले त्यस सिनलाई मिस गर्नेछन् । चलचित्रमा नायक बन्न हिडेको एक युवाको संघर्षलाई चित्रण गर्न खोजिएको छ । सो कुरा टेक वानबाट पूर्ण भएको छैन । पक्कै टेक टुमा यसबारे प्रष्ट चलचित्र हेर्न पाउने आश दर्शकले गर्ने ठाउँ चलचित्रले राखेको छ ।
चलचित्रको केन्द्रमा एक साधारण युवकको संघर्षपूर्ण यात्रा छ, जसले आफ्नो पहिचान बनाउन गरेको अनवरत प्रयासलाई मुख्य कथावस्तु बनाइएको छ । पहिलो हाफ भागमा दर्शकले सोचे जत्तिको मनोरञ्जन नपाउन सक्छन् । तर चलचित्र चल्दै गर्दा दर्शकका कौतुहलता भने जाग्दै जाने छन् । जति समय बित्तै गयो, चलचित्रको कथा वस्तु त्यति नै दमदार हुँदै गएको छ ।
चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । अभिनयको कुरा गर्दा प्रदीपको अभिनय कथाले मागे भन्दा कम देखिएको छ । प्रदीपको अभिनय माथि प्रश्न उठाउने ठाउँ छैन तर, चलचित्रको कथा वस्तुमा प्रदीपको अभिनय अझै दमदार हुने ठाउँ प्रष्ट छ ।
मुख्य खलनायकका रुपमा रहेका राजभल्ब कोइरालाको प्रस्तुतिलाई खोट लगाउने ठाउँ छैन । नेपाली चलचित्र क्षेत्रका एक कुशल र सफल नायकबाट पहिलो पटक खलनायक पात्र हुँदै धेरै पछि नेपाली सिने जगत्मा कमब्याक गरेका कोइरालाको अभिनय अनएक्पेटेड छ । यो नेपाली सिने जगत्मा उनको कमब्याकलाई उत्कृष्ट रुपमा लिन सकिन्छ ।
डेब्यु नायिका दिव्याको अभिनय पनि राम्रो छ । आनाको अभिनय पनि राम्रो छ । चलचित्रमा मल्टीस्टार प्रदीप खड्काको फरक–फरक शैलीको अभिनयले फिल्मलाई नयाँ उचाइ दिएको छ । वरिष्ठ अभिनेता सरोज खनालले बोलेको एउटा संवादले फिल्मलाई अन्त्यसम्म धेरै माथी उठाईदिएको छ ।
निर्देशकिय क्षमता, प्रस्तुति, सिनेमाटोग्राफी र कथाको प्रस्तुतीकरण प्रभावशाली देखिन्छ । तर, कता कता क्यामेराको फोकस आउट भएको दर्शकले प्रष्ट मनन गर्न सक्ने सिन चलचित्रमा राखिएको छ । जसले दर्शकलाई नमजा लाग्न सक्छ । चलचित्रको टाइटल गित उत्कृष्ट बनेको छ । चलचित्र भित्रका गितमा कथा वस्तु जोडिएकाले दर्शकले गित पनि रुचाउन सक्छन् ।
राजन भुसाल निर्देशित फिल्मलाई थमन भण्डारीले निर्माण गरेका हुन् । अद्धृत फिल्म्सको प्रस्तुतिमा ‘एक्टर’लाई मोती फिल्मले निर्माण गरेको हो । फिल्ममा सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डेय, बादल भट्ट लगायतको पनि अभिनय छ । निर्देशक भुसालसँग मिलेर आकाश बरालले पटकथा लेखेका हुन् ।

