काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ‘कोड यात्रा’ सुरु भएको छ । जसमा ह्याकाथन प्रतियोगिता र करियर फेस्ट कार्यक्रम राखिएको छ ।
विद्यार्थीको सिपलाई उजागर गर्ने, विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थी क्लब हिमालय आईटि, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवाेटिक्स क्लवले संयुक्त रुपमा कोड यात्राको आयोजना गरेका हुन् ।
ह्याकाथनमा काठमाडौं उपत्यकाको विभिन्न इन्जिनियरिङ्ग तथा आईटी ३५ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । ती कलेजका विद्यार्थीलाई ३५ टिममा विभाजन गरिएको छ ।

उक्त कार्यक्रमका लागि आयोजक पक्षले हरेक टिमलाई फरक फरक थिम दिनेछ । सोही थिममा आधारित रही विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट बनाउनु पर्ने कार्यक्रम आयोजक कमिटिका सदस्य आदिप राउतले जानकारी दिनुभयो ।
राउतका अनुसार प्रोजेक्ट सकाउनका लागि ४८ घण्टाको समय निर्धारण गरिएको छ । उक्त समयभित्र विद्यार्थीहरुले आफ्नो आइडियालाई कम्प्युटरको माध्यमबाट पूर्ण रुप दिनुपर्नेछ ।
तीन दिन अर्थात् २९ गते सम्म सञ्चालन हुने उक्त कोड यात्रामा सहभागी विद्यार्थीहरुलाई कलेजमै खाने र बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको अन्तिम दिनमा कुन टिमले उत्कृष्ट प्रोजेक्ट बनायो भनेर निर्णय गरी विजेता घोषणा गरिनेछ ।

त्यसैगरी आईटि र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई सहजै बजारसँग आवद्ध गराउने उदेश्यले करियर फेस्टको आयोजना पनि गरिएको छ । सहज रुपमा विद्यार्थीलाई जागिर र इन्टर्नसीपको लागि विभिन्न आइटी कम्पनीहरुसँग सहकार्य गर्ने हेतुले करियर फेस्टको आयोजना गरिएको हो ।
कलेजकै प्रांगणमा आयोजित कार्यक्रमको लागि हिमालय कलेज अफ इन्जिनियरिङले भौतिक पूर्वाधार उपलब्ध गराएको छ ।

