- By Kailah Rawal(siddharth) : धेरै प्रतीक्षित चलचित्र ‘पिताम्बर’ को ट्रेलर सार्वजनिक भइसकेको छ र दर्शकहरूले सामाजिक सञ्जालमा यसको प्रशंसा गर्न थालिसकेका छन्। ट्रेलरको तीव्र ऊर्जा र स्टार कलाकारहरूको दमदार अभिनयले छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल भएको छ। ट्रेलरले दर्शकहरूको उत्सुकता अझै बढाइदिएको छ।
कृषा चौलागाईंको निर्देशनमा बनेको यस सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, र सौगात मल्ल जस्ता शक्तिशाली कलाकारहरू छन्, जसले यो सिनेमा एक्शन र ड्रामाले भरिएको रोचक कथा हुने संकेत ट्रेलरमै दिएका छन्।
ट्रेलरमा प्रदीप खड्कालाई एक दमदार एक्शन हिरोको रूपमा प्रस्तुत गरिएको छ। उनले यसपटक नयाँ अवतारमा निकै आकर्षक र स्टाइलिश फाइट सिनहरू दिएका छन्। दयाहाङ राईको प्रभावशाली उपस्थिति र संवादले दर्शकको मन जितिरहेको छ। सौगात मल्ल आफ्नो गहिरो अभिनय शैलीसहित स्क्रिनमा देखिएका छन्।
त्यस्तै, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सुरक्षा पन्त, सुपुष्पा भट्ट, र दिव्या रायमाझी जस्ता कलाकारहरूले कथालाई अझ गहिरो बनाएका छन्।
पिताम्बर केवल दृश्य प्रभावमा सीमित नभई, कथा र पात्रहरूको तहबिहीन प्रस्तुतीका साथ रोमाञ्चक एक्शनको अनुभव दिने प्रतिवद्धता गर्छ। केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा बनेको यो सिनेमा कृषा चौलागाईंको दोस्रो निर्देशन हो।
चलचित्रको स्क्रिप्ट प्रदीप भण्डारीले लेखेका हुन्। छायांकन पुरुषोत्तम प्रधानले गरेका छन्, सम्पादन बन्दे प्रसादले गरेका छन् भने पृष्ठभूमि संगीत कालाचरणको रहेको छ। निर्माण विशाल चौलागाईंले गरेका हुन्।
धेरै दर्शकहरूले यसलाई “गेम चेन्जर” सिनेमा भनेर टिप्पणी गरिरहेका छन्। पिताम्बर चैत्र २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

