काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे ।

‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ,’ उनले भने ।
कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व-पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे । ‘हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ,’ उनले भने ।

