हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरु मेची हाइवेमा अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइँरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउँलाई दाउँमा राखेर सडकको बीचौंबीच भागमा उँभिरहेका देखिन्थे । र, मसिनो स्वरमा, “निगुरो किनि दिनुहोस न ! ” भन्दै यात्रृहरुको ध्यानाकर्षण गराइराहेका थिए । ती बालिकाहरुको बिरमाईलो दृश्य देखेर मेरो भित्री दिल त यस्सै रोयो । तर ताराले उनीहरुलाई देख्ने बितिक्कै, अचम्भित हुदै… “आम्मै ! कति खतरा ! यस्तो बाटोको बीचमा उभिदा गाडीले कुच्यायो भने, यी नानीहरुको हालत के हुन्छ ? अलिक राम्रो स्थान हेरेर बस्नु पर्ने,” हतासमा उनले प्रश्न गरिन ।
उनको प्रश्नले म झन नाजबाफ बनेको थिएँ । हामी मोटरभित्र थियौं । र, चालकले बेधडकको साथ मोटर चलाइँ रहेका थिए । बालिकाहरुको त्यति हृदयबिदारक स्थिति देखेपछि मेरो मनमा हल्का त्राश उत्पन्न भयो । त्यसैले चालकलाई, “गुरुजी ! कृपया, एकछिन मोटर रोक्नोस त ?” मैले मोटर रोक्नको लागि सानो अनुरोध गरें । मेरो कुरो सुन्ने बितिक्कै उनले पिलो निचोरे झैँ सुस्तरी ब्रेक दबाएर मोटरलाई रोके । र, गियरलाई हतारहतार न्युट्रल बनाइँ हाले । त्यसपछि करक्कै आवाज आउने गरि हेन्डब्रेकलाई ताने ।
हेन्डब्रेकको सहायताले मोटर रोकिरहेको थियो । त्यसपछि मैले सिसाको झ्याललाई सरर खोलें । झट्टै हेर्दा अबोध देखिने ती बालिकाहरु कतै इलामे रैनीहरु पो हुनकि भन्ने मेरो मनमा यस्सै लाग्न थालेको थियो । यदि होइनन् भने पनि उनीहरुको अनुहारले राष्ट्रको मूलवासीहरुको प्रतिनिधित्व राम्रै तरिकाले गरिरहेका थिए भन्ने कुरोमा हामिमा
दुई मत थिएन। हामी उनीहरुको नजिकै पुगेका थियौं । अब त्यति नजिक पुगेपछि उनीहरुको उमेर अन्दाज लगाउँदा सायद दश-बार्ह बर्षको हुनुपर्छ भन्ने लाग्यो । अझै ती दुवैजना दिदीबहिनी पो हुन् कि भन्ने मलाई मनमनै लागिरहेको थियो ।
एकछिनपछि सानो चाहिँले बडो आत्मियताको साथ, “सर ! हाम्रो घरमा हाम्री आमा सिकिस्त बिमारी भइँरहेकी छिन् । उनको औषधि उपचार गर्ने पैसा छैन । कृपया निगुरो किनिदिनुहोस न ” भन्दै एकहातले निङ्गुरोको मुठो उँचालेर मेरो सामु ल्याइँन । निङ्गुरोको मुठो मेरो अनुहारको नजिक देखेपछि, “भो भो नलिनु है । आज हामी होटलमा नै बस्छौं । हाम्रो घर पनि एकालङ्कामा छ । हामी बाटोमा जादाँजादाँ सुकि पनि हाल्छ ।” मोटरको पछाडीदेखि ताराको सानो स्वर गुन्जिदै आयो ।
तर मेरो अनुहारदेखि त्यति नजिकबाट आको त्यो शब्दले मलाई खाटा बसेको पुरानो घाउ उप्काए झैँ भयो । किनभने म सानो छँदा एकदिन मेरी आमा पनि त्यस्तै सिकिस्त बिमारी हुनु भएको थियो । र, त्यसबेला बाबु घरमा हुनुहुन्नथ्यो । हिउँदको महिनामा पैसा कमाउनको लागि गुमपहाड (भारत)तिर जानु भएको थियो । त्यसैले म र बैनी गाउँभरी त्यसरी नै खानाको खोजीमा हिडिरहेका हुन्थ्यौं ।
मेची सडकमा उनीहरुको अचानक उपस्थितिले मेरो मन बेचैनमात्र होइन, केहिबेर स्तब्ध भइँरहेको थियो । अब त्यति नजिक आएर उँभिएपछि मैले उनीहरुलाई शिरदेखि पुछारसम्म राम्ररी हेरें । निक्कै लामो समयसम्म नधोएर जिङ्ग्रिगै परेको केसरासी । मयलले कत्ला कत्ला परेर खङरङ्गै भएका हातखुट्टाका छालाहरु । अनि भर्खरभर्खरै हातले एकचोटी दायाँ र अर्कोचोटी बायाँ तानिएका अनुहारमा सिङ्गानको लाप्राहरु । बर्षौ अगाडीदेखि फाटेर धुजाधुजा भएका एक्कैखाले निला जामाहरु । त्यो भन्दा बढि दुःख त मलाई त्यसबेला लाग्यो । जतिबेला जताततै छिद्रछिद्र भएका कट्टुहरुमा मेरो नजर पुगेर बङलङ्गै ठोकिएँका थिएँ । यीनै यावत कुरोहरुले त्यहाँ दरिद्रताको पहिचान राम्रैसँग देखाइरहेका थिए ।
चैत्र बैशाखको मध्ये खडेरी थियो । अझै मध्यान्हको टण्टलापुर गर्मीले हामीलाई राम्ररी सताइरहेको थियो । हुनत हामी वातानुकुलित मोटरमा सरर हुइँकिरहेको थियौं । त्यसैले हामीलाई खास्सै असर परिरहेको थिएन । तर त्यति कडा घामले सडकमा बिछ्याइँएका अलकत्र मज्जाले तताइँरहेको मोटरभित्र देखि नै आभाष हुन्थ्यो । अब त्यति धेरै तातो अलकत्रमा नग्न खुट्टाले टेक्त्ता कस्तरी पोलीरहेको होला भनेर मैले गाडीभित्र स्वयम अनुभूत गरिरहेको थिएँ । हुनत उनीहरुको त्यस्तो दुःखद स्थितिमा मैले निगुरो पनि किन्न सक्त्तिनथे ।
किनभने हामी भरै बेलुकी बिर्तामोडमा पुगेर होटल किङ्सबरीमा बास बस्दै थियौं । अझै त्यो योजना झापादेखि ताप्लेजुङको लागि उकाली चढँनु अगाडी नै बनेका हुन् । त्यस होटलमा हामी पहिले पनि बसेका थियौं । होटल पाँचतारे र एकदम नयाँ थियो । साँच्चि त्यसको आधिकारिक उदघाटन पनि भएको थियो वा थिएन मलाई पत्ता भएन । तर रातको लगभग सय डलर तिर्नु पर्ने त्यो होटल मेरो विचारमा निक्कै सस्तो नै लागेको थियो । नत्रभने विश्वका बिभिन्न ठाउँहरु जस्तैः- हङकङ, सिङ्गापुर, दुवाई, लण्डन, रोम, इस्तानबुल, पेरिस र न्युयोर्कमा त्यतिको सस्तोमा हामी कहिले पनि बस्ने अवसर पाएका थिएनौं । यदि अन्य सबै ठाउँलाई छाडिदिने र काठमाण्डौको अन्य पाँचतारे होटलहरुसँग तुलना गर्ने हो भने पनि हामीलाई निक्कै सस्तो लागेको थियो । त्यसैले ताराले त्यहिँ बस्नुपर्छ भनेर ढिपी गरिरहेकी थिइँ ।
बग्रेल्ति घुम्तीहरु भएको मेची सडकमा त्यसरी भेटिएका नानीहरुको निगुरो किन्न नसके पनि त्यतिक्कै बिदा हुन मलाई थोरै अफ्ठ्यारो लागिरहेको थियो । त्यसैले गोजीमा आराम गरिरहेको एकहजारको नोट निकालेर पाँच-पाँचसय है भनेर भित्री दिलदेखि दिन मन लाग्यो । त्यति सोचिसकेपछि गोजिमा हात लगाएर पैसा निकाल्न खोज्दै गर्दा, “सर ! पर्दैन पर्दैन हजुर, यस्ता नानीहरु बाटामा कति भेटिन्छन् भेटिन्छन् । बाटो बाटोमा पैसा बाँडेर कहाँ साध्य हुनु र ? जति बाँडेपनि पुग्त्तै पुग्त्तैन नि हजुर ।” थोरै मुख खुम्च्याएर चालक बोले । उनको भनाई सुनेर केहीहदसम्म साँचो लाग्यो । हुनत मेरो मन पनि कर्कलाका पात माथिको पानी जस्तै लरबरिरहन्छ । नभन्दै उनको कुरोले मेरो विचार सर्लक्कै युटर्न भइँहाल्यो ।
साँच्चै पैसा दिएर सबैको पेट भरिने भए मुम्बईमा आँधापेट खाएर बाँचीरहेकाहरुलाई मुकेश अम्बानीले किन पैसा नदिएका होलान् ? त्यसैले पैसा दिएर संसार चल्दैन भन्ने उनलाई राम्रैसँग हेक्का रहेछ । त्यसको सट्टामा उनले लगभग एक अरब डलर खर्च गरेर विश्वको सबैभन्दा महङ्गो घर निर्माण गरे । तिनै २७ तले गगनचुम्बी महल “एन्टिलिया” देखि मुनी सडकमा बरु रमिता हेर्छन् । त्यो त भारतिय भूमीको कुरो भयो । यदि चिनियाँहरुको पनि कुरो गर्ने हो भने त्यहाँका असाध्यै धनाढ्य ज्याक माले, “सित्तैमा केही चिज पाइँदैन, र हरेक कुरो किन्नुपर्छ,” भनेका एकचोटी राम्ररी स्मंरण गरें । तर हामी नेपालीहरु चाहिँ कुरो बुझेर वा नबुझेर सितैमा युरोपियन युनियन, युएसएड, जाईका र डिफिडलाई घरिघरि किन घच्घच्याइँरहेका छौं भनेर ताजुक लाग्छ ।
“उसो भए लु भैगो जाउँ त । आखिर जति माया लागेता पनि केही गर्न सकिएन ।” धेरै मन खेलाएपछि चालकतर्फ हेरेर मैले सुस्तरी मुख खोलें । उनी शाही नेपाली सेनाका पूर्व हबल्दार हुन् । हुनत अहिले शाही शब्द लोप भइँसकेको छ । खयर जे सुकै भएतापनि उनी बहुत अनुशासित छन् । उनको बानी ब्योहोरा देखेपछि नेपालीहरु पनि त्यति इमान्दर हुन्छ र, भन्ने मलाई उनले बनाएका छन् । मैले त्यसो भन्ने बितिक्कै उनले मोटरको हेन्डब्रेक खोले । र, मोटर सुस्तरी अगाडी गुड्न थालिहाल्यो । तर त्यती प्यारी नानीहरुलाई सडकमा त्यतिक्कै छाडदै गर्दा मेरो मन हुरुरु उँडेर मेरी छोरीकहाँ पुग्यो । म पनि समयमा नै छाती, तौल, उचाइ र भुँडी नापेर परदेश नलागेको भए सायद मेरी छोरीले पनि क्विन मेरी युनिभर्सिटी, लण्डनमा अङ्ग्रेजी कानुन पढने अवसर के पाउँथी होली र ? त्यसपछि बेलायतको दोश्रो ठूलो सहर बर्मिङ्घाममा सोलिसिटरको भूमिका कसरी निभाउँन सक्थिन होली र ?
त्यसपछि हामी सधैको लागि उनीहरुसँग बिदा भएका थियौं । चालकले टिट-टिट हर्न बजाउँदै असंख्या घुम्तीहरु पार गर्दै गयो । हुनत हामी त्यसबेला नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङ्ग घुम्न निस्केका थियौं । त्यहाँ पुगेर हाम्रा पृय मित्र मणिशंकर पोमुसँग बजारलाई एकचक्कर मार्दा आफ्नो जिल्ला सदरमुकाम दिक्त्तेल झैँ सुरक्षित महसुस गरिरहेको थियौं । यदि उहाँसगँ साइँनु नगासिएको भए मनभरि डर बोकेर फुङलिङ् बजार घुम्नु पर्ने हुन्थ्यो होला ? तर त्यस्तो भएन । बजार घुमिसकेपछि बेलुकी पख मेवाखोला रिसोर्टमा फिरेका थियौं । र, त्यहाँ एकरात समय बिताएपछि भोलि फुङ्लिङ् बजारलाई बिदाई गरेका थियौं ।
कुरो २५ अप्रिल २०२१ को हो । अनि हामी पूर्वी नेपालको यात्रामा थियौं । र, यात्रामा म, तारा, दया बैनी र उनकी श्रीमान् थियौं । फुङलिङ्पछि हाम्रो यात्रा क्रमशः फिदिमहुँदै ईलामतर्फ झरेका थिए । वास्तवमा चिया र अलैँचीको मूख्यभूमी रहेको ईलाम जिल्ला सम्भवत नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनसक्छ भन्ने मेरो ठम्याइँ थियो । जुनकुरो मैले नेपालमा रहेको बिभिन्न जिल्लाहरुको यात्राको क्रममा पूर्वको सिमाना काकरभिट्टादेखि पश्चिमको सिमाना दोधारा चादँनीसम्म पुगेर निकालेको निश्कर्ष थियो । तर त्यो जिल्ला नै राम्रो हो भन्ने मेरो विचार नितान्त व्यक्त्तिगत विचार हो । सायद अन्य मानिसलाई फरक जिल्ला पनि मन पर्न सक्दछ | तर यदाकदा मलाई कसैले ठेक्कै, “तपाईलाई नेपालको सबैभन्दा बढि मन पर्ने स्थान कुन हो ?” भनेर सोधिहालेको खण्डमा म आँखा चिम्लेर निस्फिक्रीको साथ कन्याम, ईलाम हो भन्न सक्नेछु ।
कन्याम घुम्ने सुन्दर सपना लिएर हाम्रो यात्रा क्रमशः अगाडी बढिरहेकै थियो । तर साखेजुगं पुगेर हाम्रो , मोटरले एकझमट बिसौनीमा थकाइँ मार्यो । हुनत पाठकहरुलाई ज्ञान भएकै कुरो हो । साखेजुगं तिनै गाउँको नाम हो । जहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म भएको थियो । तर त्यहाँ पुगेर कसोकसो साखेजुगं, झलनाथ र सडकछाप नानीहरु सम्झदा मेरा दिमाक पुनः एकचोटी रन्थनिएर आयो । सायद म पनी यो देशको मन्त्रि वा प्रधानमन्त्रि हुँदो हुँ त सर्पको अध्यानमा खर्च गर्ने करौडौ करोड सरकारी पैसा तिनै सडकछाप नानीहरुको पढाइँमा खर्च गर्थे हुँला ?
तर म त्यति भाग्यमानी मानिस कहाँ छु र ? मलाई थाहा छ । म कहिलै पनि जिन्दगीमा मन्त्रि हुन सक्त्तै सक्त्तिन । र, सरकारी पैसाको उपभोग पनि गर्न पाउँदिन । हुनत मैले यसो भनिरहँदा उपयोगिताबादका पिता जेरेमी बेन्थनले भनेको एउटा कुराले चाहिँ हरेक मानवको हृदय छुन्छ । किनभने मानिसले जुनसुकै काम गरेता पनि “अधिकतम मानिसहरुको अधिकतम खुसी को लागि गर्नु पर्छ ” उनले भनेका छन् । यदि चिनियाँ दर्शनशास्त्रि लाउत्सुले झैँ राम्ररी मनन गर्ने हो भने वास्तवमा सर्प पाल्ने काम त न्युनतम मानिसका लागि अधिकतम खुसी हो कि भन्ने मलाई कताकता भान पर्यो । तर सबै मानिसको विचार एउटै नहुन पनि सक्त्तछन् ।
साखेजुगंलाई छाडेपछि सर्पको कुरो पनि सकियो । तर पुवाखोला पार गरेपछि भने मेरा नयनहरु हल्का रक्त्तिम हुँदै आइरहेका थिएँ । किनभने हामी त्यसबेला बरबोटेको कुइँनेटोमा सुस्तरी गुडिरहेका थियौ । अब त्यहाँ पुगेपछि मैले डाक्टर तारानाथ शर्माको बेस्सरी याद गरें । हुनत उनी अहिले हामीसँग हुनुहुन्न । तैपनि बरबोटे तिनै गाउँ हो । जहाँ आजभन्दा लगभग आठ दशक अगाडी उनको जन्म भएको थियो । त्यहाँ जन्मेता पनि उनले अध्यानको क्रममा बेलायतसम्म पुगेर बरालिएका मात्र होइँन । अमेरिकन भूमीमा पनि राम्ररी परेड खेलेका थिए ।
अब शर्माले अमेरिका र युरोपमा अध्यान गर्ने सगौरव अवसरहरु पाउँदा त्यसको आँठ दशकपछि निगुरो बेच्ने इलामे रैनीहरुले खै के पाउने हुन् कुन्नि ? वास्तवमा यो कुरो बुझ्न मैले निक्कै मेहनत गर्नु पर्ने हुन्छ । अझ यसो भनौं । मेरो जस्तो दिमाग हुने मूलवासीहरुलाई अलिक हम्मे हम्मे पर्छ । सम्भवत अल्बर्टआइन्स्टाइनकै दिमागको आवश्यक पर्छ होला ? सन् १९९९ मा मक्कास्टर युनिभर्सिटीका बैज्ञानिकहरुहरुले उनको दिमाग साधरण मानिसको भन्दा अलिक सानो छ भनेका छन् । हुनत अहिले पनि उनको दिमागको बिषयमा अध्यान गर्न मिलिहाल्छ । किनभने म फिलाडेल्फिय पुग्दा त्यहाँको कुटर सङ्ग्राहलयमा उनको दिमाग छन् भनेर पत्ता लगाएको थिएँ ।
आइन्सटाइनलाई त्यहिँ छाडौं । एउटै राज्यको मानिसहरुले फरकफरक सुबिधा भोग गर्न पाउनुमा राज्यको उपल्लो तहमा बस्ने मानिसहरुको कि साधरण जनताको दोष होला ? त्यो पनि सोच्नु पर्ने हुन्छ । हुनत यो कुरो यहाँ भन्न मिल्छ वा मिल्दैन ? तारानाथ र दुर्गानाथहरुले देश बिदेशमा अध्यान गर्ने अवसर पाउँदा के राज्यले सबै मानिसलाई समान व्यवहार गरेका छन् त ? यसको सहि जबाफ भेटन नसकिएतापनि निश्चय नै मलाई केहिबेर सोचनिय बनाइँरह्यो ।
त्यति रमाइँलो गाउँ बरबोटे छाडेपछि मोटर एक रफ्तारमा गुडिरहेको थियो । किनकिन त्यसबेला मेरो तन ईलाममा र मन इलामे जनताहरु प्रति समर्पित भइँरहेका थिए । राष्ट्रले जनताप्रति गर्ने भेदभावको कडा बिरोधी युवाको एउटा नाम हो, – रत्न कुमार बान्तवा । मानव जीवनले एउटा कुरो के विचार गर्नु पर्छ भने, ‘दरिद्रता र अन्यायले क्रान्तिको मात्र जन्म दिन्छ ।” तिनै क्रान्तिको पर्यायबाचि नाम हो, बान्तवा । उनको जन्म २००८ सालमा ईलाम जिल्लाको सानो गाउँ चित्रेमा भएको थियो ।
२७ चैत्र २०३५ सालमा देउँमाईको किनारमा रहेको इभाङ्ग जङ्गलमा छातीमा गोली ठोकेर तत्कालिन सरकारले उनको बिभत्स हत्या गरेका थिए । उनलाई हत्या गर्दा उछिट्टिएका रगतका बाछिटाहरु तिनै जङ्गलका चिलाउँने रुखहरुमा परेका थिए । हरेकबर्ष तिनै चिलाउँनेका रुखहरु पालुवा फेरेर बढ्ने क्रम जारी भएतापनि दीनदुःखी र अशिक्षित बर्गको लागि आन्दोलनमा उत्रिएका बान्तवाको नाम भने घढ्दै वा गुमनाम हुँदै गइँरहेका छन् । ईलाम बजार कटेर उनको समाधिस्थल पार गर्दैगर्दा मैले एकपटक टोपी खोलेर रत्न कुमार वान्तवालाई हार्दिक सलाम गरेको थिएँ ।
बादलुको घुम्तीभित्र सधैँ हराइरहने ईलाम बजारलाई छाडेर हामी फिक्कलमा तस्विरका लागि रोकिएका थियौं । त्यसपछि मोटर कन्याममा पुगेर अर्कोपटक रोकियो । कन्याम मेरो दोश्रो चोटीको गन्तव्य थियो । पहिलो चोटि यहाँदेखि सुरु गरेको यात्रा बाबुको पालाको गुन्द्रि बजार र मेरो समयको दार्जीलिङ, खरसाङ, कालिम्पोङ । र, सिक्किमको जोरथागं, नाम्ची, गान्तोक हुँदै सिलगुरीमा पुगेर अन्त गरेको थिएँ । कन्यामको यात्रा ताराको लागि बिलकुल पहिलो पटकको थियो । त्यसैले हामी त्यहाँ पुग्ने बितिक्कै हतार हतार एक-एकवटा सेतो घोडा चढिहालेका थियौं । त्यसपछि घोडाबाट सवार भएर नजिकै रहेको चियाबारीका थुम्काहरुलाई सुस्तरी चक्कर मार्न थालेका थियौं ।
तर त्यसरी चियाबारीको थुम्कालाई चक्कर मार्दै गर्दा मलाई अचानक रियाद पुगेको झझल्को आउन थाल्यो । रियाद पुगेको निक्कै लामो समयपछि हामी जेरुसेलममा पनि पुगेका थियौं । तर तिनै रियाददेखि जेरुसेलम पुग्ने प्रोफेट महम्मदको कथा भने मेरोभन्दा अलिक पृथक रहेकाछन् । ईस्लाम धर्मका अनुयायीहरुले उनी हाम्रा भगवान हुन् । र तिनै भगवान प्रोफेटले रियाददेखि जेरुसेलम पुगेर बायुपङ्खी घोडामा चढेर स्वर्गमा बिलय भएका थिएँ भन्ने विश्वास गरेका छन् । त्यसमा कतिको सत्यता छ । त्यो त मलाई पटक्कै थाहा छैन् । तर सत्य चाहिँ के हो भने हामी कन्यामको चियाबारीमा तारासँग निक्कैबेर बिलय भइँरहेका थियौं ।
निश्चय नै कन्याम र चिया एक अर्कामा पर्यायवाची शब्द हुन् भन्नमा कसैले कन्जुस्याइँ गर्न मिल्दै मिल्दैन् । लगभग १५-१६ बर्ष अगाडीदेखि कफिलाई सधैँको लागि तिलान्जली दिएपश्चात् चियाप्रति मेरो गहिरो प्रेम बस्न थालेको छ । तर चियाको इतिहास पनि एक प्रकारले गज्जबको नै छ । त्यसको अध्यान गर्न म एक दिन बेजिङ वा म्याण्डरिन भाषामा (बे भनेको उत्तर र जिङ भनेको राजधानी) उत्तरको राजधानी बेजिङ अथवा पूर्व पेकिङ पुगेको थिएँ ।
चीनमा इसापूर्व २७३७ तिरको एकदिन यस्तो घटना घट्न जान्छ । एक बिहान चिनियाँ सम्राट शेन नुङ एक कप तातोपानी लिएर एउटा रुखको मुनि बसिरहेको हुन्छन् । अचानक आएको हुरीले सम्राटको कपमा क्यामेलियाको पात खसेर पस्छ । र, उनले तिनै पातदेखि आएको रसलाई मज्जाले पिइदिन्छन् । सम्भवत त्यसै दिनदेखि त्यसको नाम चिया राखियो र चियाको बिकास विश्वभरि तिब्र गतिले फैलिदैं गयो ।
चियाको इतिहास मात्र होईन । हामीले बेजिङमा छँदा चिया आस्वादक उत्सव (टि टेस्टिङ सेरेमनी) मा भाग लिने सुनौला अवसर पनि पाएका थियौं । अनि त्यसबेला चिया चखाउँने जवान पट्ठीकी नाम चाहिँ अमन्डा थियो । उनको नाम अमन्डा कसरी रहन गयो होला भनेर मेरा पाठकहरु छक्क पर्नु हुन्छ होला ? तर प्रायः चिनियाँहरुको नाम चिनियाँ भाषा र अङ्ग्रेजी भाषामा गरेर दुई प्रकारले राखेका हुन्छन् । तिनै पट्ठीले साधरणतय चिनियाँ चियाहरु सेतो, हरियो, पहेलो, ओलाङ, कालो र गाढा रङ्का हुन्छन् भनेर हामीलाई भनेकी भनिन् ।
तर उनले भनेकी बाहेक मैले रातो चिया पनि निक्कैचोटी पिएको छु भन्ने त्यसबेला झल्यास्सै याद गरें । रुइँबुस बनस्पतीबाट बन्ने उक्त्त चिया अफ्रिकन रातो चिया भनेर विश्वभर मज्जाले चिन्ने गरिन्छ । तर उनले त्यतिबेला चीनियाँ चियाको मात्र कुरो गरेकी होलिन भनेर मैले केही सोध्ने जमर्को गरिन । उनले ती माथि उल्लेख गरिएको सबै चियाहरुको बिषयमा बताइँ सकेपछि हामीलाई सबै चियाको स्वाद चाख्ने अवसर पनि प्रदान गरेकी थिइँन । हुनत मैले संसारको बिभिन्न आनन्ददायि होटलहरुमा प्राप्त गरिने मध्यान्हको चिया (आफ्टरनुन टि) पिउँदै गर्दा तिनै चियाहरु पिएको बेजोडले अनुभव सङ्गालेको छु । त्यसो त चिनियाँ चियाहरुदेखि बाहेक भारतिय चियाहरु दार्जीलिङ, सिक्किम र आसामहरु पनि कहाँ कमि छन् र ? तर मैले यहाँनेर इङ्लिस ब्रेकफास्ट टिको चाहिँ कुरो गर्न चाहिनँ ।
हाम्रो यात्राको समय अविरल नदी झैं बहिरहेको थियो । त्यसैले हामीलाई कन्याममा ईलामे चियाको स्वाद लिने मौका भने जुर्न सक्त्तै सकेनन् । जे सुकै भएतापनि कन्यामसँग बिदा मागेर चारआली झर्दै गर्दा हाम्रो दिन समाप्त भएर सूर्य अस्ताउने काम भइँरहेको थियो । कसोकसो भाग्यले साथ दिएर सूर्यास्तको रमाइलो दृश्यबलोकन गर्ने समयमा हामी ठेक्कै पूर्वपश्चिम राजमार्गमा पस्दै थियौं । त्यसरी हामी पूर्वबाट पश्चिम लाग्दै गर्दा हाम्रो ताप्लेजुङ, पाँचथर, ईलाम र झापाको यात्रा पनि पुरा हुनै आटेको थियो ।
ती जिल्लाहरुको यात्राले भन्दा पनि खै मलाई त्यसबेला किन हो किन थोरै मन उद्वेलित भइँरहेको थियो । निगुरो बेच्ने स-साना बालिकाहरुको मुहार र मन्त्रि प्रधानमन्त्रि हुनेहरुको मुहारलाई मैले निक्कै लामो समयसम्म सस्मंरण गरिरहें । एउटै भूमीमा जन्मेर पनि फरक व्यवहार भोग्दै आइरहनुको पछाडी खै पूर्व जूनीको श्राप हो वा पश्चिमको भनेर द्विबिधामा परिरहें । त्यसैले प्रख्यात क्रान्तदर्शी कवि रडयार्ड किपलिङले लेखेको एउटा कबिताको एकहरप स्मृतिमा जागिरहेको थियो ।
“पूर्व भनेको पूर्व हो, र पश्चिम पश्चिम नै हो । र, यी दुईको कहिलै भेट हुन सक्तैन् ।”
अक्सफोर्ड, बेलायत ।