कयौं व्यवस्था परिवर्तन भयो, भुई मान्छेका अवस्था ज्यूको तिहु रह्यो। यो वाक्य मैले धेरै पटक सुनें। अतः यो वाक्यलाई थप प्रष्टाउन पर्दैन जस्तो लाग्छ। आज म यहाँहरुलाई सनमान वि. क. को कथा सुनाउँन चाहन्छु। हामी गाउँलेहरूले उहाँलाई ( लाटाकामी )भनेर बोलाउने गर्छौँ । उहाँ सुन्न र बोल्न सक्नु हुन्न तर हामीले जानी – नजानी ईसाराले भनेको कुरा उहाँ सबै बुझ्नु हुन्छ अनि गर्नु पनि ।
भनिन्छ , मनुष्य जीवन पत्र – पत्रले मिलेर बनेको हुन्छ । आज मैले उहाँ ( वि. क.) दाईको केही पत्र, मेरो हेराई, मेरो बुझाईले उप्काउँन सकुला तर समग्रतामा होइन। धेरै लामो समयपछि म कामविशेषले उहाँका गएको थिए । उहाँले मलाई चिन्नु हुँदो रहेछ अझै पनि । आजभन्दा चार – पाँच वर्ष अघि मैले एउटा खुकुरी अर्जाप्न ( धार लगाउन ) उहाँ वि. क. दाई काँ लगेको थिए । वि. क. दाईले त्यस खुकुरीलाई अर्जाप्ने क्रममा खुकुरी भाँचेर आधा – आधा टुक्रा भएछ । अझै पनि मलाई त्यो आधा टुक्रा भाँचिएको खुकुरी देखाएर, ईसाराले भन्दै हुनुहुन्थ्यो – के गर्नु विच्चैंमा भाचियो। उहाँले अर्को बनाइदिन्छु भनेको पनि वर्षौं भयो ।
त्यसमा वि. क.दाई प्रति मेरो कुनै गुनासो छैन । म उहाँलाई मेरो बाल्यकाल देखि नै चिन्छु । वि. क.दाई मलाई आज पर्यन्त उस्तै लाग्छ। कुनै बदलाव छैन । चुच्चो नाक, पातलो ज्यान,सुकेको गाला,… तर उहाँको दारीचाइ सेत्ताम्मे फुलेछ। म पुग्ने बेला , उहाँ कच्याँ ( एक कृषि औजार ) बनाउँदै हुनुहुँदोरहेछ । म सानो छँदा वि. क.दाईको आरण खुब चलाउँथे। मज्जा आउँथ्यो। अझै पनि उहाँ त्यही आरनमा काम गरेर आफ्नो गुजरा चलाउँनु हुँदो रहेछ। वर्षौंभरि गाउँलेहरुको कृषि औजार अर्जप्नु हुन्छ र दशैमा गाउँलेहरुको घरमा गएर बाली उठाउँनु हुन्छ। वि. क.दाईको दिन चरिया यसैगरी बित्ने गर्छ ।
वि. क. दाई अथाहा मिहेनत गर्नु हुन्छ । मलाई लाग्छ, वि. क.दाईको कुनै ठूलो उदेश्य छैन,कुनै लक्ष्य छैन । तरपनि उहाँ आफ्नो काममा तल्लिन हुनुहुन्छ । निरन्तर लागि रहनुहुन्छ । उहाँले कसैले बाली दियो – दिएन त्यसको कुनै हिसाब किताब राख्नुहुन्न । म पनि उहाँलाई सरकारले , गाउँले, के दियो – दिएन त्यसको कुनै हिसाब राख्न चाहन्नँ । तर उहाँले हामी गाउँले – कृषकलाई धेरै दिनु भाको छ। यदि वि. क.दाईले हामी कृषकको कृषि औजार नबनाई दिनु भएको भए, हामी कृषक अपूर्ण हुन्थ्यौं । हाम्रो घरमा अन्न – बाली भित्रिदैन थियो होला । र राष्ट्रले पनि “हाम्रो देश कृषि प्रधान देश हो” भन्नको लागि भए पनि भन्न पाउँदैन थियो होला ।
वि. क. दाईसंगको कुराकानीमा मैले उहाँलाई तपाईंको तस्बिर खिच्छु अनि कथा लेख्छु हुन्छ भन्दा उहाँ एकछिन अक्मकिनु भयो। नबुझ्या जसरी , ” मैले त केही बुझिन भन्नु भयो। ” तर एकछिन पछि मलाई सुइकृति दिनु भयो। हुन्छ भन्नु भयो। र आज मैले जानी – नजानी सनमान वि. क.को कथा सुनाए । उहाँको जीवनको केही आयाम उप्काउँन सके होला ।
बास! यो त एक प्रतिनिधि कथा मात्र हो । मलाई लाग्छ यस्तो कथा हरेक गाउँमा छ ।
send your story also on – news4maahikhabar@gmail.com