काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर दुर्गम क्षेत्रका महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
वार्षिकोत्सवका अवसरमा बैंकले हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। उक्त शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत महिलालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिनेछ।
त्यसैगरी, सिमकोट–२ स्थित रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ।
यसैगरी, बैंकले रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहयोगले स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सहयोग पुग्ने बैंकको अपेक्षा छ।
बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग प्रदान गर्ने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन सिजापतीले आगामी दिनमा बैंकिङ सेवालाई थप आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा बैंकमा पाँच वर्ष र १० वर्षको सेवा अवधि पूरा गरेका कर्मचारीलाई उनीहरूको योगदानको कदर गर्दै मायाको चिनोसमेत प्रदान गरिएको थियो।
बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने बैंकले जनाएको छ।