काठमाडौं । अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले समन्वय समितिको संयोजक बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका छन्।

पार्टीभित्र समन्वय समितिको नेतृत्व लिन वाग्लेलाई प्रस्ताव गरिएको थियो। तर उनले सरकारका महत्त्वपूर्ण निर्णयहरूबारे आफूले समेत सञ्चारमाध्यम वा पार्टीबाहिरका व्यक्तिमार्फत जानकारी पाउने गरेको भन्दै उक्त जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।

प्रस्ताव अस्वीकार गर्ने क्रममा वाग्लेले संयोजकको जिम्मेवारी लिँदैमा अहिले देखिएको समस्या समाधान नहुने धारणा राखेको बताइएको छ।

उनले भनेका छन्, “सरकारका महत्त्वपूर्ण निर्णयहरूबारे आफूले पनि मिडिया वा पार्टीबाहिरका मान्छेमार्फत थाहा पाउने गर्छु। म संयोजक बस्दैमा यो समस्या समाधान हुँदैन, त्यसैले म यो जिम्मेवारी लिन्नँ।”

वाग्लेको यो भनाइले सरकारका महत्त्वपूर्ण निर्णय प्रक्रियामा पार्टीभित्रको समन्वय, सूचना आदानप्रदान र जिम्मेवारी बाँडफाँटबारे प्रश्न उठाएको छ।

समन्वय समितिको नेतृत्वसम्बन्धी प्रस्ताव अस्वीकार भएपछि अब रास्वपाले उक्त जिम्मेवारी कसलाई दिने भन्ने विषय चासोको रूपमा हेरिएको छ।