काठमाडौं । नेपाली चलचित्र ‘सारथी’ले चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ। आगामी मंसिर ११ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रले सेन्सर पास गरेसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित हेर्न पाउने भएका छन्।
सोमबार सेन्सर प्रक्रिया पूरा गरेको चलचित्रको प्रदर्शन अवधि २ घण्टा २२ मिनेट ३१ सेकेन्ड रहेको छ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘सारथी’लाई कुमार गजुरेलले निर्देशन गरेका हुन्। चलचित्रको कथा पनि निर्देशक गजुरेल स्वयंले लेखेका हुन्।

यस चलचित्रको मुख्य आकर्षणमध्ये दुई दशकपछि नेपाली पर्दामा उत्तम प्रधान र निरुता सिंहको पुनरागमनलाई विशेष रूपमा हेरिएको छ। यी दुई कलाकारको पुनर्मिलनले दर्शकमाझ थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ।
धीरज इन्फिनिटी फिल्म्ससँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमार्फत गिरी विश्वकर्मा र गायत्री जोशीले नायक तथा नायिकाका रूपमा डेब्यु गरेका छन्।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता तथा सम्पादक रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन्। बेक बहादुर कुमाई र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिशान थापा सहनिर्माताका रूपमा रहेका छन्।
चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, संकल भुजेलको छायांकन तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

नेपालका दुर्गम पहाडी क्षेत्र, मौलिक संस्कृति र ग्रामीण जीवनलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ‘सारथी’ले माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनाका विषयलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई भावनात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरिएको चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउने ‘सारथी’ले नेपाली दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो अब बढेको छ।